महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सहमतीबाटै टुंगिन्छ, प्रतिस्पर्धा हुँदैन् : अध्यक्ष प्रचण्ड

Posted by

असार २२ गते, २०७६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले आगामी पार्टीको महाधिवेशनमा सांगठनिक प्रतिस्पर्धा नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सहमतिबाटै टुंगीने दाबी गरेका छन् ।

आइतबार नेपाल दुरसञ्चार कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतापूर्व भएको समझदारीअनुसार आगामी महाधिवेशनमा अल्पमत र बहुमतको प्रतिस्पर्धा नहुने प्रष्ट पारेका छन् । ‘आउने अधिवेशन एकताको महाधिवेशन हुनेछ र, आउने अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय हामीले सहमती र समझदारीबाट गर्नेछौं ।’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले अल्पमत र बहुमतबाट गर्ने छैनौं भनेर हामीले हस्ताक्षर गरेका छौं ।’

एकता महाधिवेशन पछि मात्रै संगठनभित्रको प्रतिस्पर्धालाई स्वीकार गर्ने सहमति भएको अध्यक्ष प्रचण्डले खुलाएका छन् । अध्यक्ष प्रचण्डले खुलेआम प्रतिस्पर्धा हुँदा बनीनसकेको पार्टी संरचना बिग्रने दाबी गरे । प्रतिस्पर्धाको खेल हुँदा अनेकन खालका हस्तक्षेप हुनसक्ने संकेत गर्दै प्रचण्डले खुलेआम प्रतिस्पर्धा नगर्ने सहमति भएको प्रष्ट्याएका छन् ।

अध्यक्ष प्रचण्डले पटक–पटक कम्युनिष्ट आन्दोलनलाई दबाउने, कुल्चीने निकै ठुला कसरतहरु समेत भएको उल्लेख गरेका छन् । ‘राणाकालदेखि ०६२/०६३सम्म आईपुग्दा हामीले त्यस्ता थुप्रै थुप्रै कसरतहरु देख्यौं र त्यसको प्रतिवाद हामीले गर्यौं ।’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले असार महिनाभित्र एकताको बाँकी सबै काम सकि साउनबाट पार्टीले गाउँ गाउँसम्म अभियान चलाउने बताएका छन् । अध्यक्ष प्रचण्डले एकताका सबै कामहरु सहमतिबाटै टुंगीने प्रक्रियामा पुगीसकेको समेत प्रष्ट्याएका छन् ।

शासन चलाउन नजान्ने चुनौति कम्युनिष्टमा
अध्यक्ष प्रचण्डले ठूलो बलिदानी र त्याग गर्ने कम्युनिष्टहरु शासनमा पुग्दा शासन कमजोर देखिएको भन्दै यसलाई सच्याउन आफुँहरु माथि ठूलो चुनौति रहेको बताए । उनले विश्वभरिको तितो अनुभबबाट सिक्दै कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन लागिपरेको बताए ।

‘जस्तोसुकै बलिदान गर्न पछि नपर्ने र जनताको भरोसा लिन सिपालु हुने कम्युनिष्टहरु शासनमा पुगिसकेपछि शासन चलाउन नजान्जे । विश्वभरि बडो एउटा नकारात्मक तितो एउटा अनुभव देखिएकै छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो अक्टुबर समाजवादी क्रान्तिदेखि अहिलेसम्म आन्दोलन गर्ने हदसम्म लोकप्रिय शासन गर्ने ठाउँमा पुग्दा त्यो लोकप्रियताको ग्राफ माथि जाला भन्दा तलतिर ओर्लीने जुन खतरा छ हामीले त्यसको सामना गर्नुछ । हामी त्यो अग्नि परीक्षामा छौं ।’

अध्यक्ष प्रचण्डले अग्नी परीक्षा पास गर्न सके नेपालबाट विश्वभर नयाँ उज्यालो जाने पनि बताए । उनले शासनमा कुशल नहुने रोग पत्ता लगाउनु पर्ने ठुलो चुनौति आफुँहरुसँग रहेको उल्लेख गरे ।