माडी बाँदरमुडे घटना भएको आज १५ वर्ष पुरा, पीडितले अझै पाएनन् न्याए

Posted by

चितवन, शुक्रबार, जेष्ठ २३, २०७७ – चितवनको माडी बाँदरमुडे घटना भएको आज १५ वर्ष पुरा भएको छ ।

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा बाँदरमुडेमा आजकै दिन २०६२ साल जेठ २३ गते नेकपा माओवादीको विद्युतीय धरापमा यात्रुबाहक बस परेको थियो । सो घटनामा ३८ जना निर्दोषले ज्यान गुमाए भने ७२ जना घाइते भए । बाँदरमुडे घटनाका पीडितले सरकारसँग न्यायको मागगर्दै आएका छन् । घटना भएको आज १५ वर्ष पुगिसक्दापनि पीडितहरुले न्याय पाउन सकेका छैनन् ।

घटना पश्चात विभिन्न चरणहरुमा भएका छलफलबाट पीडितहरुलाई न्याय र क्षतिपुर्ति दिने सहमति भएको थियो । तर पीडित परिवारले अहिलेसम्म सहमति अनुसार राहत पाउन सकेका छैनन् ।

बाँदरमुडे घटना पीडित समिति उपाध्यक्ष कृष्ण अधिकारीले अहिलेसम्म पनि आफूहरुले न्याय नपाएको गुनासो गरे । उनले भने–‘घटना भएको १५ वर्ष पुरा भएको छ, न हामी पीडितलाई न्याय, सत्य न पीडकलाई सजाय भएको छ, हामी अझै न्यायको पर्खाइमा छौं ।’

शान्ति प्रक्रियामा आईसकेपछि हालको नेकपा अध्यक्ष पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री भए । यो बीचमा पीडित परिवारलाई राहत दिनु त परेको कुरा उनी बाँदरमुडेसम्म पुगेनन् । त्यही स्थानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएपछि दाहालले पीडित परिवारसँग भेटघाट गरेका थिए ।

भेटघाटकै क्रममा केही पीडित परिवारसँग माडी नगरपालिकाको रोहवरमा दाहालले तीनबुँदे सहमति गरेका थिए । मृतकका परिवारलाई रोजगारीदेखि घाइतेलाई जीवन वृत्तिसम्म दिने सहमति भएको थियो । दाहालले चुनाव पनि जितेको दुई वर्ष पूरा भइ सकेको छ । तर, सहमति कार्यान्वयन हुन नसकेको अर्का पीडित हरि न्यूरे ‘सुदिप’ले गुनासो गरे ।