माडी रिउ खोलाको सतह खतराभन्दा माथि, माडी–ठोरी सडकखण्ड अवरुद्ध

Posted by

माडी, ७ असार २०७६, शनिबार
माडीको रिउ खोलामा पानीको सतहले खतराको लेभल पार गरेको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण रिऊ खोलामा पानीको सतह बढेको हो । चौविस घण्टा भित्र माडीमा १६१ मिलि मिटर पानी परेको छ । सो क्षेत्रमा २४ घण्टा भित्र १४० मिलि मिटर पानी परेमा खतरा हुने हाइड्रोलोजी विभागले जनाएको छ ।

माडीमा अधिक ठाडो खोलाहरु रहेका छन् । वर्षाले अधिकांश खोलाको पानीको बहाव बढेकाले खोला छेऊका सर्वसाधारणलाई सचेत रहन माडी नगरपालिकाले आग्रह गरेको छ । खोलामा पानीको मात्रा बढेकाले सम्भावित क्षती न्यूनिकरणका लागि उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै अविरल बर्षाका कारण माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । मगई खोलामा पानीको सतह बढेपछि सडक अवरुद्ध बनेको हो । यो क्षेत्र बर्सेनी बाढीको चपेटामा पर्ने गरेको छ । प्रत्येक बर्ष माडीमा बाढीले ठूलै जनधनको गर्ने गर्दछ ।

यता जिल्ला प्रशासन कार्यालय चितवनले पनि नदि छेऊका सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।