माेटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललितको शल्यक्रिया सफल

Posted by

असोज १, २०७७ बिहिबार काठमाण्डाै – कञ्चनपुरमा माेटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ ।

क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको शल्यक्रिया सफल भएको बताएको हो । कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाण्डाैकाे ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्र राज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ ।

सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत बताएको छ । ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो ।

दुर्घटनामा परेपछि ललितलाई धनगढीको निःसर्ग अस्पतालमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरे पनि त्यहाँबाट सोमबार हेलिकप्टरबाट काठमाण्डाै ल्याइएको थियो ।

ललितको उपचारका लागि सिप्यानले आर्थिक सहयाेग सङ्कलन गरिरहेको छ ।