युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

Posted by

काठमाडौं, जेठ २७ । भारतीय ‘अलराउन्डर’ युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

भारतलाई सन् २०११ को एकदिवसीय विश्वकप जिताउन अहं भूमिका खेलका युवराजले सोमबार सन्न्यासको घोषणा गरेका हुन् ।

सन् २०११ को विश्वकपमा ९ खेलमा ९०.५० को औसतमा ३६२ रन बनाउनुका साथै १५ विकेट लिएका युवराज ‘म्यान अफ दी सिरिज’ भएका थिए ।

उनले सन् २००७ को ट्वेन्टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डका स्टुवार्ड ब्रोडविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

युवराजले एकदिवसीयमा १४ तथा टेस्टमा तीन गरी १७ अन्तर्राष्ट्रिय शतक बनाएका छन् ।

३०४ एकदिवसीयमा ८ हजार ७०१ रन बनाएका युवराजले टेस्टका ६२ इनिङ्समा १ हजार ९०० रन जोडेका थिए ।

टी–२० मा उनले ११७७ रन बनाएका थिए ।

अलराउन्डर युवराजले एकदिवसीयमा १११, टी–२० मा २८ तथा टेस्टमा ९ विकेट लिएका थिए ।

सन्न्यासको घोषणा गर्दै युवराजले सन् २०११ को विश्वकप नै आफ्नो लागि सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।

उनलाई सो विश्वकपकै दौरान क्यान्सर भएको पत्ता लागे पनि अष्ट्रेलियाविरुद्धको क्वार्टरफाइनलमा खेल्दै ५७ रन बनाएका थिए ।