रंगशाला निर्माण पुनआरम्भ : धुर्मुस–सुन्तलीलाई जनताको उर्जा,“भत्काउनेले बनाउनै पर्छ।”

Posted by

  १८ जेष्ठ २०७६, शनिबार

चितवन समाचारडटकम, १८ जेठ ।
स्थानीय केही ब्यक्तिहरुले डोजर लगाएर बार भत्काएपछि केहीदिन अवरुद्ध भएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य आजबाट पुनआरम्भ भएको छ ।
जिल्लाका अगुवा र आमजनताको साथपछि रोकिएको निर्माणकार्य सुचारु गर्न धुर्मस सुन्तली फाउण्डेशन तयार भएको हो ।
आज बिहान रंगशाला निर्माणस्थलमा स्थानीय जनप्रतिनिधी, दलका नेता, कार्यकर्ता, उद्योगी ब्यवसायी, खेलाडी नागरिक समाज र स्थानीय जनसमुदायको उपस्थितीमा भत्किएको बार निर्माण थालिएको छ ।
¥याली सहित जम्मा भएका स्थानीय जनताले “अघि बढ धुर्मुस सुन्तली साथ दिन तयार छौ । ” “भत्काउनेले बनाउनै पर्छ । ” जस्ता नारा लगाएका थिए ।
सो क्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले देशकै गर्वको रुपमा रहेको रंगशाला निर्माणका क्रममा आइपरेका स्थानीय सबै किसीमका कठिनाईको सामाना चितवनवासीले गर्ने भएकाले ढुक्कका साथ अघि बढ्न धुर्मुस सुन्तली फाउण्डेशनलाई आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकाकाकी मेयर रेनु दाहालले डोजर चलाउने घटनामा संलग्नलाई कानुनी कार्वाही अघि बढेको जानकारी दिदैं रंगशाला निर्माणमा फाउण्डेशनलाई सघाउन महानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार ईन्द्रजित र नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपानेले रंगशाला सबैको साझा सम्पति भएकाले यसको निर्माणमा सर्वपक्षिय सहयोग र समर्थन रहीरहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कटेल धुर्मुसले दुखद घटना भएको जनाउदै सवैको साथ र समर्थनले आफुले हिम्मत नहारेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेश साँसदहरु बिजय सुवेदी, कृष्ण भुर्तेल, राजनीतक पार्टीका जिल्ला स्तरिय नेता तथा अगुवा कार्यकर्ताहरु, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, स्थानीय जनसमुदाय लगायतको उलेख्य उपस्थिती रहेको थियो ।