रत्ननगरमा काञ्जिहाउस निर्माणको काम अन्तिम चरणमा

Posted by

चितवन बुधबार, ८ साउन, रेडियो प्रभाव। नगर क्षेत्रमा छोडिएका छाडा पशुचौपाया राख्नका लागि पूर्वी चितवनको रत्ननगर नगरपालिकाले काञ्जिहाउस निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।

रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा काञ्जिहाउस निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख नारायण वनकाअनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमिनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । मुख्यरूपमा दूध दिन छोडेका गाई, उन्नतजातका गाईको बाच्छा बजारमा छोडिदिँदा स्थानीयबासीले समस्या भोग्दै आएका छन् ।

वनका अनुसार त्यस्ता पशु नगरपालिकालाई प्रतिपशु एक हजार रुपैयाँ तिरेर काञ्जिहाउसमा छोड्न सकिनेछ, काञ्जिहाउसमा रहेका राम्रा पशुलाई खरीद गरेर पाल्ने व्यवस्था पनि मिलाइने छ । पशुको दानापानी, रेखदेखसँगै आवश्यक उपचारको व्यवस्था गरिने वनको भनाइ छ ।