राजनीति प्रतिनिधिसभा शून्य समय : सांसदको कन्चटमा पेस्तोलदेखि विमान किन्दा कमिशनसम्मका कुरा

Posted by

साउन १७, २०७५ काठमाडौं :
प्रतिनिधिसभाको शून्य समायमा सांसदहरूले समसामयिक राजनीतिक र सामाजिक विषयमा आफ्ना भनाइ राखेका छन्। सांसदहरूले देशमा भइरहेका घटनाहरूबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसहरूले स्थानीय तथा प्रदेश सरकारले लगाएको करका कारण सर्वसाधरण मर्कामा परेको, महिलामाथिको हिंसा बढ्दै गएको तथा सडक सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद बिमला नेपालीले प्रदेश तथा स्थानीय सरकारले पहिलेको भन्दा १० गुणा कर बढाएकाले सर्वसाधरणले करको ठुलो सास्ती व्यहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद बिमला बिकले भारतसंग सिमा जोडिएको बर्दिया जिल्लाका १०० वटा सीमास्तम्भ हराएको भन्दै भारतसँगको सीमाको दशगजा क्षेत्र समेत नदेखिने अवस्था आएकाले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन्। सांसद महेन्द्रकुमारी लिम्बुले करको बोझ बढाउने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद महेश बस्नेतले सांसद निरुदेवी पालमाथि पेस्तोल तेर्स्याएर संसदीय सुनुवाइ समितिको बैठकमा सहभागी भयो भने तिम्रो ज्यान बेपत्ता गर्दिन्छु भनिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति तर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद मिना सुब्बाले कन्चनपुर र काभ्रेमा भएको बालिका बलात्कारमा संलग्नलाई नियन्त्रणमा लिई मृत्युदण्डसम्मको सँजाय दिनुपर्ने माग गरिन्। सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्ला अस्पतालमा दुई डाक्टरको दरबन्दी भएपनि डाक्टरहरू लामो समयदेखि नभएको भन्दै तुरुन्तै डाक्टर पठाउन सरकारको ध्यानानाकर्षण गराए। उनले जिल्लाका १६ वटा वडामा स्वास्थ्य चौकी स्थापना गर्न पनि माग गरे। सांसद रंगमति शाहीले हुम्ला जिल्लाको हिल्सामा भंन्सार कार्यालय व्यवस्थित हुन नसकेको तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सेतो कागजमा हस्ताक्षर गरेर कर असुल्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद राजेन्द्रकुमार केसीले शून्य समय र विशेष समयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले ५ दिन भित्र जवाफ दिनुपर्ने भन्ने व्यवस्था नियमावलीमा रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद रामबहादुर विष्टले २४ अर्ब खर्च गरेर सरकार आफैँ धरौटी बसेर दुई वटा विमान खरिद गर्दा मोटो कमिशनको चलखेल भएको भन्दै सरकारसँग जवाफ माग गरे।