राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

Posted by

२०७६ असार, १० काठमाडौं । विवादास्पद गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । विधेयक फिर्ता लिने भूमिसुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट पास भएको हो ।

विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

टाइमलाइनमा गुठी विधेयक

बैशाख १७ गतेः विधेयक राष्ट्रियसभामा दर्ता ।

बैशाख १९ गतेः विधेयक सांसदहरूलाई वितरण ।

जेठ ६ गतेः राष्ट्रियसभामा प्रस्तुत ।

जेठ १३ गतेः विधेयकमाथि राष्ट्रियसभा बैठकमा सामान्य छलफल ।

जेठ १९ गतेः गुठी संरक्षण पुचः द्वारा विधेयक सम्पदा विरोधी भएको भन्दै यसमाथि पुनर्विचार गर्न माग ।

जेठ २८ गतेः विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन । प्रहरीद्वारा पानीको फोहरा प्रहार ।

जेठ ३१ गतेः दाङमा गुठी विधेयकको पक्षमा र ललितपुरमा विरोधमा प्रदर्शन ।

असार १ गतेः विधेयकको विरोधमा भक्तपुर र जनकपुरमा प्रदर्शन ।

असार २ गतेः प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारमा काठमाडौं उपत्यकाबाट निर्वाचित नेकपासम्बद्ध सांसदहरूसँग छलफल ।

असार ३ गतेः सरकारद्वारा विधेयक फिर्ता लिने निर्णय ।