राष्ट्रियसभा बैठक अपराध पीडित संरक्षण विधेयकमा छलफल

Posted by

भदौ ४, काठमाडौं –
सरकारले पहिलो पटक अपराध पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्थासहितको अधिकार संरक्षणका लागि अपराध पीडित संरक्षण विधेयक २०७५ ल्याएको छ ।अपराध पीडितको हकलाई संविधानको मौलिक हकमा समावेश गरिएकाले त्यस व्यवस्थालाई कार्यान्वयन गर्नका लागि सरकारले अपराध पीडित संरक्षण विधेयक २०७५ ल्याएको हो ।संघीय संसदमा यो विधेयकमाथि सैद्धान्तिक छलफल पनि भएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै राष्ट्रियसभा सदस्यहरुले विधेयक ल्याइनुलाई सकारात्मक कदम भन्दै सरकारको प्रशंसा गरेका छन् । यद्यपी अपराध पीडितलाई दिइने राहत र कसुरको वर्गीकरणमा केही पुर्नविचार गर्नुपर्ने धारणा उनीहरुको छ ।राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विश्वका धेरै मुलुकमा नभएको व्यवस्था नेपालमा कायम गर्ने उद्देश्य साथ विधेयक आएको भन्दै प्रशंसा गर्नुभयो ।उहाँले वेपत्ता पारिएका नागरिक, अंगभंग भएका, बलात्कृत भएका ,अपहरणमा परेकालगायतलाई न्याय दिनका लागि विधेयक ल्याइएकाले बताउनुभयो ।देशमा अनेकौ विकृति आइरहेका बेला अपराध पीडितलाई संरक्षण गर्ने कानुन आउनु नविनतम र महत्वपूर्ण भएको भन्दै उहाँले सम्पूर्ण विकृतिलाई हटाउने सवालमा विधेयक कोशे ढुंगो सावित हुने दाबी गर्नुभयो ।