लकडाउन चांडै अन्त्य गर्न गर्भनरहरुलाई ट्रम्पको निर्देशन, बेलायतमा भने लकडाउन तीन हप्ता थपियो

Posted by

शुक्रबार, ५ बैशाख, २०७७ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लकडाउन चांडै अन्त्य गर्न राज्यका गर्भनरहरुलाई निर्देशन दिएका छन् ।

अमेरिकामा कोभिड–१९ को महामारी फैलिरहे पनि  पनि उनले लकडाउन अन्त्य गर्न गर्भनरहरुलाई निर्देशन दिएका हुन् ।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले केही राज्यहरुलाई यही महिनामै लकडाउन खोल्न समेत सुझाव दिए ।

उनले राष्ट्रव्यापी लकडाउन दीर्घकालीन समाधान नभएकोमा समेत जोड दिए ।

महामारी नियन्त्रणमा राज्यले चालिरहेका कदमहरुमा संघीय सरकारले सहयोग जारी राख्ने भन्दै ट्रम्पले गभर्नरहरुलाई छिमेकी राज्यहरुसंग मिलेर तीव्र गतिमा काम गर्न आग्रह गरेका छन् ।

केही राज्यहरुको अवस्था अति राम्रो हुँदै गएको दाबी गर्दै उनले मे १ भन्दा पहिले नै खुला हुने सम्भावना रहेको उल्लेख गरे ।

अमेरिकी राष्ट्रपतिले अबको युद्धको अर्को मोर्चा भनेको अमेरिका फेरि खोल्ने रहेको स्पष्ट पारे ।

उनले लामो समयसम्मको लकडाउनले सामाजिक स्वास्थ्यमा समस्या नित्त्याउने जोखिम बढेको बताए ।

पत्रकार सम्मलेनमा ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका संयोजक डा.एन्थोनी फाउचीले अहिले नै सबै कुरा राम्रो भयो भनेर ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे । 

यता बेलायतमा कम्तिमा तीन साताका लागि लकडाउन लम्ब्याइएको छ ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले लडकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि मात्र नभई अर्थव्यवस्थाका लागि पनि खतरा हुने बताए ।

उनले आशा गरे अनुसार कोरोना भाइरसको संक्रमण दरमा कमी नआएको पनि बताए ।