वन तथा वन्यजन्तु संरक्षणमा एकता,सौराहा सेक्टर प्रमुखलाई स्वागत

Posted by

माघ २३ रत्ननगर ।

वन संरक्षणकर्मी र निकुञ्जका अधिकारीले वन तथा वन्यजन्तु संरक्षणका एकजुट हुने प्रतिबद्धता जनाएका छन । चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत गोपाल घिमिरेको स्वागतका लागि आयोजित कार्यक्रममा उनीहरुले संरक्षणमा आइपर्ने चुनौतीको सामना तथा संरक्षणलाई प्रभावकारी बनाउन सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएका हुन ।

सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन र वडा नं ८ मा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वनले भर्खरै आएका सहायक संरक्षण अधिकृत घिमिरेलाई स्वागत गरेका हुन । कार्यक्रममा घिमिरेले नेपाली सेना,निकुञ्ज र समुदायको सामुहिक प्रयासबाट संरक्षणको काम प्रभावकारी बन्दै गएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

चितवन निकुञ्ज र यहाँ रहेका वन्यजन्तुहरु पर्यटन विकाससंग जोडिएको भन्दै उनले पर्यटन विकास,रोजगारी र आयआर्जनका लागि पनि वन र वन्यजन्तु जोगाउनु पर्ने बताए । कार्यक्रममा बाघमारा वनका अध्यक्ष जीतु तामाङले वन संरक्षण गरेकै कारण स्थानीय स्तरमा विकास निर्माण र जीविकोपार्जनमा सहज भएको भन्दै संरक्षणको कामलाई कमजोर बनाउन नहुँने तर्क गरे ।

संरक्षणको लागि निकुञ्जले बनाएको कार्ययोजना र सामुदायिक वनले बनाएको कार्ययोजनालाई मिश्रण गरेर काम गर्न आफु तयार रहेको अध्यक्ष  तामाङले बताए । कसरी हुन्छ वन र वन्यजन्तु जोगिनु पर्यो उनले भने हामी जस्तो सुकै योगदान गर्न पनि तयार छौं । कार्यक्रममा चित्रसेन वनका अध्यक्ष पुष्पराज श्रेष्ठ,बाघमाराका निर्वतमान अध्यक्ष विपी चौधरी र सचिव कृष्ण भट्ट लगायतले मन्तव्य राखेका थिए ।