वर्षाले क्षति अपडेट : २१ जनाको मृत्यु, १० घाइते, १० जना बेपत्ता, त्रियुगा नदीको बाँध भत्कियो, १० घर सम्पर्कविहीन

Posted by

असार २८, २०७६ काठमाडौं : अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ। यो अवधिमा ५० जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार जारी राखेको प्रहरीले जनाएको छ।

त्रियुगा नदीको बाँध भत्कियो, १० घर सम्पर्कविहीन

उदयपुर – बिहीबारदेखि लगातार परेको वर्षाले उदयपुरको त्रियुगा नदीको बाँध भत्किँदा १० घर परिवार बाढीमा फसेको छ ।

चौदण्डीगढी नगरपालिका–५, बेल्हापट्टीको बाँध भत्किँदा खैरा टोलमा बसोबास गर्दै आएको १० घर परिवारका मान्छेहरु अहिले बाढीमा फसिरहेका छन् ।

बाढीमा फसेकाहरु घरको छानो र टाँडमाथि रहेकोले उद्दारको पर्खाइमा रहेका छन् । बाँध भत्किएर आएको बाढीले थुप्रै घर भत्काएको छ ।  साथै गाईबस्तुलाई बगाएको छ भने मानिसहरुको बारेमा केही जानकारी नआएको स्थानीय भाष्कर चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीय युवाहरुले उद्धारको प्रयास गरे पनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन ।

नेपाल टेलिकमको टावरमा समस्या हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । स्थानीयहरुले उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छन् ।