वाम गठबन्धनको घोषणापत्रमा तीन चरणका कार्यक्रम

Posted by

कात्तिक २१ काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको घोषणापत्र सार्वजनिक गरेका छन्। मंगलबार एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्। वाम गठबन्धनले चुनावका लागि जारी गरेको घोषणापत्रमा तीन चरणका कार्यक्रम समेटिएको माओवादी अध्यक्ष प्रचण्डले बताए। वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा चुनावमा बहुमत हासिल गरे दुई वर्ष, पाँच वर्ष र दश वर्षमा गर्ने कामको फेहरिस्त रहेको उनको भनाइ थियो। ‘दुई वर्षभित्र गरिने मुख्य कामहरु केन्द्रित रुपमा राखेका छौं। विकास निर्माणका कामहरु देखि सामाजिक न्यायका कामहरु र शान्ति प्रक्रियाका बाँकी कामहरु राखेका छौं। भूकम्प पीडितहरुलाई बास दिने र ऊर्जा सम्बन्धी गरिने कामहरु प्राथमिकतामा राखेका छौं। त्यसपछिका तीन वर्ष औद्योगिक क्षेत्रमा र उत्पादन क्षेत्रमा र सडक निर्माणदेखि काठमाडौं उपत्यकाको विकास र रोजगारी सिर्जना गर्ने उद्देश्य लिइएको छ।’ प्रचण्डले वाम गठबन्धनको घोषणापत्रले देशमा ७० वर्षदेखिको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको घोषणापत्र उत्कृष्ट रहेको बताएका थिए।