वाह! नेपाल एयरलाइन्स भन्ने बनाउँछौं: नवनियुक्त मन्त्री भट्टराई

Posted by

काठमाडौं, साउन १५ – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने बताएका छन्।

बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले  अहिले नेपाल एयरलाइन्सप्रति उठेका प्रश्नको समाधान गर्ने  बताएका हुन्।

‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने,‘एकदिन यस्तो बनाउँछौं, वाह! नेपाल एयरलाइन्स भन्ने हुन्छ।’

उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको बताए।

‘मलाई १ बजे बोलाएर प्रधानमन्त्रीले मन्त्रीको प्रस्ताव गर्नुभयो,’ भट्टराईले भने, ‘यो मन्त्रालयमा कति नम्बरमा परेँ थाहा छैन। फोटा धेरै छन्। उहाँहरू सबैसँग राय सुझाव लिनेछु।’