- 05, Jun 2019
- बुधबार, २२ जेष्ठ, २०७६
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मानवीय जनशक्तिलाई बलियो र स्वस्थ बनाउन सके मात्रै देशलाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताएका छन् ।
विश्व बैंकले आज काठमाडौंमा गरेको नेपाल–भुटान मानव संशाधनमा लगानी फोरम विषयक कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले विकासका लागि मानवीय क्षमतामा विकास गर्नुपर्ने बताए ।
उनले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पनि शिक्षा, स्वास्थ र खानेपानीलाई २१ देखि २२ प्रतिशतसम्म बजेट विनियोजन गरिएको जानकारी दिए ।
दिगो विकासको मुख्य पक्ष नै जनशक्ति भएकाले विकासका काममा मानव संशाधनको विकासमा जोड दिनुपर्ने उनको भनाई छ् ।
मन्त्री डा. खतिवडाले शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकेमा मात्रै दिगो विकास हुने भएकाले सरकारले सोहीअनुसारको नीति अबलम्बन गरेको बताए ।
कार्यक्रममा भुटानी अर्थसचिव निम दोर्जीले मानव विकासका लागि शिक्षा र स्वास्थको क्षेत्रमा लगानी गर्नु अत्यावश्यक भएको बताए ।
सुरक्षित मातृत्वका लागि र बच्चाको स्वास्थमा लगानी गर्न सके मात्रै देश विकासले गति लिन सक्ने उनको भनाइ थियो ।