विद्यार्थी संगठनले गरे राजमार्ग अवरुद्ध

Posted by

सोमबार, २ आषाढ, २०७६ राजविराज । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन विरुद्ध विद्यार्थी संगठनले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। चरणवद्ध आन्दोलन थालेका एक दर्जनबढी विद्यार्थी संगठनले सोमबार सप्तरीको रुपनी स्थित राजमार्ग अवरुद्ध गरेका हुन्।

विद्यार्थी संगठनले अत्यावश्यक सवारी साधन बाहेकका सवारी चल्न दिएका छैनन्। विद्यार्थीहरु सडकमै बसेका कारण साना सवारी साधन समेत सडकमै रोकिएका छन्।

विभेदकारी विज्ञापन तत्काल रद्द हुनुपर्ने, आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राजिनामा दिनुपर्ने, समावेशी सिद्धान्तका आधारमा विज्ञापन हुनुपर्ने र प्रादेशिक लोकसेवा आयोग गठन हुनुपर्ने लगायतका माग राखि चरणवद्ध आन्दोलन थालिएको एक विद्यार्थी नेताले बताए ।

दुई दिनअघिदेखि आन्दोलन सुरु गरेका विद्यार्थी संगठनले शनिबार अध्यक्ष मैनालीको पुत्ला दहन र आईतबार मशाल जुलुस प्रदर्शन गरेका थिए ।