विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्धारा न्युजिल्याण्ड पराजित, पाकिस्तान शिर्ष चारमा, आज भारत र इंग्ल्याण्ड भिड्ने

Posted by

आइतबार, १५ आषाढ, २०७६ काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा गएराती अष्ट्रेलिया र पाकिस्तान विजयी भएका छन् ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको अष्ट्रेलियाले लर्ड्समा भएको खेलमा न्युजिल्याण्डलाई ८६ रनले हरायो ।

खेलमा अष्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा १ सय ५७ रनमै समेटियो । न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९  विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो ।

उसका लागि उस्मान ख्वाजाले ८८ रन तथा अलेक्स केरीले ७१ रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिकसहित कुल ४ विकेट लिए ।

यो जितसंगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ । यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ ।

उता अफ्गानिस्तनलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको शिर्ष चारमा उक्लिएको छ ।

इंग्ल्याण्डको लिड्समा भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको २ सय २८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

जितसंगै पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ । अब पाकिस्तानले समुहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भिड्नेछन् ।

६ खेलबाट ११ अंक जोडेको भारत तालिकाको दोस्रो स्थानमा रहेको छ भने ७ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड पाँचौ स्थानमा छ ।