विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा अफगानिस्तान पराजित, आज दुई खेल हुँदै

Posted by

  •  05, Jun 2019
  • बुधबार, २२ जेष्ठ, २०७६
news

काठमाडौं । श्रीलंकाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन मात्र बनाउन सक्यो ।

उसका लागि नाजिबउल्लाह जाद्रनले ४३ रन बनाए पनि टोलीको हार जोगाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ तथा लसिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो ।

वर्षाको कारण ४१ ओभरमा झारिएको खेलमा अफ्गानिस्तानलाई डि.एल पद्दतिको आधारमा १ सय ७८ रनको नयाँ लक्ष्य दिइएको हो ।

जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो । अफगानिस्तान पहिलो खेलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । आज भारत र दक्षिण अफ्रिका भिड्दा बंगलादेशले न्यूजिल्याण्डसँग खेल्नेछ ।

विश्वकप क्रिकेटको जारी १२ औं संस्करणमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको तेस्रो खेल हो ।

सुरुवाती दुई खेलमा दक्षिण अफ्रिकालाई इङ्ल्यान्ड र बंगलादेशले हराएका थिए ।