विश्वकप क्रिकेट : भारत सेमिफाइनल नजिक, वेष्ट इण्डिज समूह चरणबाटै बाहिरियो

Posted by

 असार १२, २०७६ बिहिबार

भारतसँग १२५ रनले पराजित भएपछि वेष्ट इण्डिज इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । 

सातौं चरणको खेलमा उच्च लयमा रहेको भारतविरुद्ध वेष्ट इण्डिजको ब्याटिङद निरिह देखियो । ७ खेलबाट ३ अंक जोडेको वेष्ट इण्डिजले बाँकी दुवै खेलमा जित हासिल गरे पनि सेमिफाइनलमा पुग्नेछैन ।

भारत भने ६ खेलबाट ११ अंकसहित सेमिफाइनल नजिक पुगेको छ । भारत प्रतियोगिताकै एकमात्र अपराजित टोली पनि हो ।

२ सय ७० रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले सुरुआतदेखि नै विकेट बचाउन सकेनन् । कुनै पनि ब्याट्सम्यानले धेरैबेर क्रिजमा टिक्ने सामथ्र्य देखाउन नसक्दा ३४ ओभर २ बलमा १४३ रनमै अलआउट भयो ।

अफगानिस्तानविरुद्धको अघिल्लो खेलमा ह्याट्रिक विकेट लिएका मोहम्मद शामी र जरप्रित बुमराहले अर्को एउटा खेलमा सानदार प्रदर्शन गरेपछि भारतले वेष्ट इण्डिजमाथि सानदार जित दर्ता गरेको हो । 

शामीले ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने २ विकेट लिएका बुमराहले ६ ओभरमा ९ रनमात्र खर्चिए । ७ ओभरमा ३९ रन खर्चेका स्पिनर युजवेन्द्र चहलले पनि २ विकेट लिए । कुलदीप यादव र हार्दिक पण्ड्याको नाममा एक–एक विकेट रह्यो । 

ओपनर क्रिस गेलले १९ बलमा ६ रनमात्र जोड्न सके । अर्का ओपनर सुनील अम्ब्रिसले ३१ रन बनाए । निकोलस पुरनले २८ तथा सिम्रन हेटमायरले १८ रन बनाउनुबाहेक ६ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नवौं नम्बरमा आएका केमर रोचले १४ र दशौं नम्बरमा ब्याटिङ गरेका कोट्रेलले १०  रन थपेका थिए । 

यसअघि म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो ।

राम्रो सुरुवात गर्न नसकेको भारतले २९ रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा १८ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ६९ रनको साझेदारी भएपछि भारत केही सम्हालिएको थियो । तर राहुल ४८ रनमा आउट भए । त्यसपछि अर्का खेलाडी विजय शंकर व्यक्तिगत १४ रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

भारतले त्यसपछि अरु दुई विकेट कम रनमा नै गुमायो । कप्तान विराट कोहली व्यक्तिगत ७२ रनमा आउट भए भने केदार जादव मात्र सात रनमा पेभेलियन फर्किए । एक सय ८० रनमा पाँच विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याबीच ७० रनको साझेदारी भएपछि भारतले राम्रो चुनौती दिन सफल भयो । हार्दिकले ४६ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मोहम्मद शामीले खाता खोल्न सकेनन् । जसका कारण भारतले दुई सय ५२ रनमा सात विकेट गुमायो । भारतका लागि धोनीले अविजित ५६ रन बनाए ।

बलिङतर्फ वेष्ट इण्डिजका केमर रोचले तीन तथा जेसोन होल्डर र शेल्डन कोट्रेलले दुई–दुई विकेट लिए ।