विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा नेपाललाई १० औँ स्थान

Posted by

जेठ ५, २०७६ काठमाडौं : नेपालले विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा १० औँ स्थान हासिल गरेको छ। अष्ट्रेलियामा सम्पन्न वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप डब्ल्यूआरसी को खुल्ला पुरुषतर्फ नेपाली टोली समग्रमा १० औँ स्थान हासिल गर्न सफल भएको हो। नेपालले खुल्ला पुरुष स्प्रिन्टमा ७९ अंकसहित पाँचौ स्थान हासिल गरेको छ भने एच टू एच १ सय ३४ अंक प्राप्त गर्दै नवौं भएको थियो। यस्तैगरी स्लोलमतर्फ १ सय ९३ अंक पाएको नेपाली टोली १३ औं हुन पुगेको थियो र डाउनरिभरतर्फ सुधार गरेको नेपाली टोली २ सय ६६ अंक प्राप्त गर्दै छैठौं भयो। नेपालले समग्रमा ६ सय ७२ अंक पाएको छ। स्प्रिन्टमा पाएको नतिजा नेपालका लागि अहिलेसम्मकै उच्च सफलता हो। च्याम्पियनशिपको खुल्ला पुरुषतर्फ समग्रमा ब्राजिलले शीर्ष स्थान हासिल गर्‍यो। यस्तैगरी रुस, न्यूजिल्यान्ड, जापान, चेक रिपब्लिक, चीन, जर्मनी, इन्डोनेशिया र अष्ट्रेलिया क्रमश दोस्रोदेखि नवौं स्थानमा रहेन्। वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनशिपमा सुरज गुरुङको कप्तानीमा रहेका नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेका छन्।