विश्व विजेता जर्मनीको अपराजित यात्रा कायम

Posted by

कात्तिक २९ –
विश्व विजेता जर्मनीले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा फ्रान्ससँग २–२ को बराबरी खेल्दै जर्मनीले अपराजित यात्रा कायम राखेको हो । जर्मनी पछिल्ला २१ खेलमा पराजित भएको छैन । खेलको अन्तिमसम्म २–१ ले पछि परेको जर्मनीलाई हारबाट जोगाउन इन्जुरी समयमा लार्स स्टेण्डलले गरेको गोल निर्णायक बन्यो । ३३ औं मिनेटमा एलेक्जान्डर लाकेजिटले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।५६ औं मिनेटमा टिमो वेर्नरले जर्मनीका लागि बराबरी गोल फर्काए । तर ७१ औं मिनेटमा लाकेजिटले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले २–१ ले अग्रता लियो ।तर इन्जुरी समयको तेस्रो मिनेटमा स्टेण्डलले गोल गर्दै सन् २०१४ को विश्वकप विजेता जर्मनीलाई हारबाट जोगाए । जर्मनी गएको हप्ता भएको इंग्ल्याण्डसँगको मैत्रिपूर्ण खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।