शिक्षित पनि अशिक्षितजस्तै लाग्न थाल्यो : प्रधानमन्त्री ओली

Posted by

  •  23, May 2019
  • बिहीबार, ९ जेष्ठ, २०७६
news

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अव्यावहारिक शिक्षाका कारण शिक्षित वर्ग पनि आफूलाई अशिक्षितजस्तै लाग्न थालेको बताएका छन् ।

बिहीबार ‘हिसान’ले काठमाडौंमा गरेको कार्यक्रममा उनले अव्यावहारिक शिक्षाका कारण शिक्षित जमातले पनि अशिक्षितजस्तो व्यवहार देखाउने गरेको बताए ।

प्रधानमन्त्री ओलीले शिक्षालाई व्यापारिक नभइ सेवाको भावबाट हेर्न सुझाव दिए ।

उनले सार्वजनिक शिक्षालाई सशक्त बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सामुदायिक शिक्षाको गुणस्तर बढाउने सरकारको नीति रहेकोसमेत प्रस्ट पारे ।

उनले सर्वसुलभ शिक्षा अहिलेको आवश्यकता रहेकाले शिक्षामा मनपरी नचल्ने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै शिक्षालाई सर्वसुलभ बनाइने बताए ।

शिक्षामा व्यापारीकरण भए सरकारले नियन्त्रण गर्ने भन्दै उनले जीवनोपयोगी र सर्वसुलभ शिक्षा आवश्यक रहेको उल्लेख गरे ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराकासाथ बिहीबारदेखि हिसान शैक्षिक मेला सुरु भएको हो ।

एसइई, कक्षा–११ र १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गरिएको हो ।

मेलामा विभिन्न विद्यालयका स्टलहरु राखिएका छन् । मेला चार दिनसम्म चल्ने जनाइएको छ ।