संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

Posted by

सोमबार, १६ आषाढ, २०७६ संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको होयाङ्मा प्रहरी र नेत्र विक्रम चन्द (विप्लब) समूह नेतृत्वको नेकपाबीच गोली हानाहान भएको छ ।

प्रहरी र चन्द समुहबीच आज विहान करिव १० बजे गोली हानाहान भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

नियमित गस्तीमा गएको प्रहरी टोली सिलिचोङको होयाङ्मा पुगेपछि प्रहरीलाई लक्षित गरि बिप्लब समूहका कार्यकर्ताले गोली हानेपछि दोहोरो गोली हानाहान भएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले जानकारी दिए ।

केही समयपछि विप्लव समुहका कार्यकर्ता जंगलतिर भागेको प्रहरीले जनाएको छ ।

अहिले उनिहरुको खोजीमा ताम्कु प्रहरी चौकी, सिसुवा प्रहरी चौकीका प्रहरी र अरुण गुल्म चैनपुरका ससस्त्र टोली त्यस तर्फ पठाइएको बताइएको छ ।

विप्लव समुहका कार्यकर्ता हतियार सहित त्यस स्थानमा आएको सुराकीका आधारमा गस्ती टोली पठाइएको बताइएको छ ।