संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज

Posted by

जेठ १८,मंगलबार काठमाडौं :  संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुदै छ।

शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ। तर इजलासमा रहेका न्यायाधीशमाथि नै कानून व्यवसायीले प्रश्न उठाएपछि आजको संवैधानिक इजलास कस्तो हुन्छ भन्ने सबैको चासोको विषय छ। 

इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि सोमबार यस सम्बन्धि निर्णय आउन सकेन। इजलासबाट हट्नुपर्ने वकिलहरूको मागलाई दुवैले अस्वीकार गरेका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा केसी र श्रेष्ठलाई इजलासमा बस्ने नबस्ने बारे निर्णय लिन आग्रह गरेपछि उनीहरुले वकिलले भनेकै भरमा आफुहरुले इजलास नछोड्ने अडान राखेका हुन्। 

संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधीश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताए पनि उनीहरुको प्रस्तावलाई प्रधानन्यायाधीश राणाले अस्वीकार गरेका छन्।

संवैधानिक इजलास कै विषयमा विवाद बढेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले रोष्टरमा रहेका न्यायाधीशसँग सोमबार छलफल गरेपनि आज निर्णयमा पुग्ने बताइएको छ। 

यस बारेमा उनीहरुले निर्णय गरिसकेका छैनन्।  इजलास गठन नै पेचिलो बन्दै गएपछि सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई कसरी अगाडी बढाउँछ भन्ने अन्योलता देखिएको छ। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।