सप्तकोशी नदीमा पानीको बहाव उच्च,वर्षाले भोजपुरमा दुई जनाको मृत्यु ,गोठ भत्किँदा रामेछापमा एक महिलाको ज्यान गयो

Posted by

  असार २७, २०७६ शुक्रबार

सुनसरी – अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातार परेको पानीका कारण कोशीमा पानीको सतह खतराको सूचीमा आएको छ । अहिले कोशीमा एक लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ ढोका खुल्ला गरिएको छ । यस्तै, इटहरी विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो । पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको संकेत देखाइएको छ । यसैगरी सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।

वर्षाले भोजपुरमा दुई जनाको मृत्यु

भोजपुर – अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ । वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको ज्यान गएको हो । पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर ज्यान गएको हो । घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरी निरिक्षक राजवंशीले बताउनुभयो ।

गोठ भत्किँदा रामेछापमा एक महिलाको मृत्यु

रामेछाप – रामेछाप नगरपालिका – ५ रामपुरमा शुक्रबार बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको छ । वर्षाका कारण गोठमा भल पसेपछि गोठ भत्किँदा रामेछाप नगरपालिका –५ रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवारका ज्यान गएको हो ।  गोठ भत्किँदा गोठमा रहेका दुई वटा भैँसी समेत मरेका छन् ।