सरकारले गर्‍याे ८ वटा कलेजको सम्बन्धन खारेज

Posted by

साउन १६,काठमाडौं –
सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गरी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको ८ वटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिनु भएको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको छ । अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले बताउनुभयो । सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि विश्वविद्यालयलाई कलेजहरुको सम्बन्धन नदिने निर्णय गर्नु परेको पनि स्पष्ट पारेको छ । सचिव बरालले नयाँ शैक्षिक रणनीति बनाउनुपर्ने भएकाले तत्काल कलेजहरुलाई सम्बन्धन नदिने निर्णय गरिएको स्पष्ट पार्नुभयो । सरकारले जनसंख्याको आधारमा सबै प्रदेशमा कलेजहरुको उचित व्यवस्थापन गर्न पनि आन्तरिक गृहकार्य सुरु गरेको छ । सचिव बरालले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले मुलुकको आवश्यक्ता अनुसार नयाँ शैक्षिक रणनीति बनाउन पनि सुरु गरेको जानकारी दिनुभयो ।