सवारी साधन नविकरणमा लगाएको शतप्रतिशत जरिवाना हटाउने प्रदेश ३ सरकारको तयारी

Posted by

मकवानपुर, ८ श्रावण २०७६, बुधबार : प्रदेश ३ सरकारले सवारी साधनको नविकरणमा लगाएको शतप्रतिशत जरिवाना हटाउने तयारी गरेको छ ।

साउन १ गतेदेखि प्रदेश ३ सरकारले ‘यातायात व्यवस्था ऐन २०७५’ मार्फत लगाएको शतप्रतिशत जरिवाना चौतर्फी आलोचनापछि हटाउने तयारी गरेको हो । यसअघि संघीय सरकारले लगाउँदै आएको ३२ प्रतिशत सम्मको जरिवानालाई परिमार्जन गर्दै प्रदेश सरकारले शतप्रतिशत पुर्याएपछि चौतर्फी आलोचना हुँदै आएको छ ।

जरिवाना हटाउनका लागि प्रदेश सरकारले आवश्यक तयारी थालिसकेको प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमर्कट्टेलले जानकारी दिए । प्रदेश ३ सरकारले सवारी साधनको नविकरणमा नयाँ आर्थिक वर्षदेखि शतप्रतिशत जरिवान लगाएपछि सर्वधारण मारमा परेका छन् ।

सवारी साधनको नविकरण तथा राजश्व बुझाउन पुगेका सेवाग्राहीहरु शतप्रतिशत जरिवाना तिर्न पर्दा आक्रोशित हुँदै फर्किने गरेका छन् । सरकारले १२५ देखि २५० सिसी सम्मको मोटरसाइलको कर चार हजार चार सय निर्धारण गरेको छ ।