सशस्त्र निरीह, पुलिस प्रधानमन्त्री कपको फाइनलमा

Posted by

  •  06, Jun 2019
  • बिहीबार, २३ जेष्ठ, २०७६

काठमाडौं, जेठ २३ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपीएफलाई ५ विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो ।

यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश नम्बर–३ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले पुलिसलाई ४२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा पुलिसले ९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

पुलिसको जितमा पवन सर्राफले अविजित २१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए ।

बलिङतर्फ एपीएफका कप्तान वसन्त रेग्मीले व्यक्तिगत ३ विकेट लिए भने शरद भेषावकरले २ विकेट झारे ।

त्यसअघि, पहिले ब्याटिङ गरेको एपीएफले २२.१ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रनमात्र बनायो । एपीएफका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

शरद भेषावकरले ७ रन जोड्दा पृथु बास्कोटाले पनि समान ७ रन नै जोडे । यसैगरी, अमरसिंह रौटेलाले ६ तथा सन्दीप जोराले ५ रन बनाए ।

एपीएफलाई ४१ रनमा समेट्नेक्रममा पुलिसका ललितनारायण राजवंशीले व्यक्तिगत ४ विकेट लिँदा कुशल भुर्तेल र सागर ढकालले समान ३/३ विकेट झारे ।

शनिबार हुने फाइनल भिडन्तका विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । रासस