सहिद स्मारक ए डिभिजन लिगमा आज मनाङ र संकटा भिड्दै

Posted by

२०७६, १५ माघ बुधबार : सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब आमने सामने हुँदैछन् । आज बुधबार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक खेल मात्रै हुने बताएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ ।लिगको ६१ औं खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्न चाहन्छ ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापति संकटाविरुद्धको खेल निकैनै महत्वपुर्ण हुने बताउँछन् । उनले आफ्नो टिम जित्न लक्ष्यसहित मैदान उत्रने बताउँछन् ।

गत बर्ष मनाङले कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो । मनाङले कीर्तिमानी लिग जित्दा संकटा क्लब उपविजेता बनेको थियो ।