सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन

Posted by

काठमाडौं– मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् । ‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।