सिन्धुलीमा हावाबाट ३५ किलोवाट विद्युत उत्पादन

Posted by

सिन्धुली, माघ १३
सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १, मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिनुभयो ।
नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ । नेपाल सरकार तथा एसियाली विकास बैंकको एक करोड ७२ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत १७ लाख ४० हजार ७ रुपैंया गरी कूल एक करोड ८९ लाख ९८ हजार ७ सय ७३ रुपैयाँमा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।
परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ ।