सुडानमा राष्ट्रव्यापी नागरिक अवज्ञा आह्वान

Posted by

  • आइतबार, २६ जेष्ठ, २०७६

सुडान, जेठ २६ । सुडानमा प्रजातन्त्रवादी अभियानकर्ताहरुले राष्ट्रव्यापी नागरिक अवज्ञाको आह्वान गरेका छन् ।

प्रजातन्त्र समर्थकहरुमाथिको सैन्य दमनमा सय भन्दा बढीको मृत्यु भएपछि यो आह्वान गरिएको हो । नागरिक सरकार पूनर्वहाली नभएसम्म नागरिक अवज्ञा जारी रहने भनिएको छ ।

मुलुकमा शान्ति वार्ता पुनः शुरु गर्ने वातावरणका लागि इथियोपियाका प्रधानमन्त्रीसँग भेट्न पुगेका तीन विपक्षी नेतालाई पक्राउ गरेलगत्तै नागरिक अवज्ञाको आह्वान गरिएको हो ।

आन्दोलनकारी नेताहरुले सुडानको सत्ता हातमा लिएको अन्तरिम सैन्य परिषद्ले गरेको वार्ता प्रस्ताव अस्वीकार गरेका छन् । सेनाले नागरिक सरकार पूनर्वहालीको प्रतिबद्धता व्यक्त गरेको छ ।

यता, अफ्रिकन यूनियनले नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न दबाब दिदैं सुडानको सदस्यता निलम्बन गरेको जनाएको छ । गत अप्रिलमा करिब ३ दशकसम्म शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई सेनाले पदच्यूत गरेपछि सुडान राजनीतिक अस्थिरतामा फसेको छ । (एजेन्सी)