सेनाको कुटपिटबाट मृत्यु घटना : पीडितले दिए उजुरी

Posted by

२०७७ साउन १० भरतपुर ।

निकुञ्ज सेनाको कुटपिटबाट एक चेपाङ युवाको मृत्यु भएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, निकुञ्जका प्रमुख र प्रतिनिधि, चितवन प्रहरी प्रमुख, मृतकसँग निकुञ्ज गएका अन्य व्यक्ति, राप्ती नगरपालिकाका जनप्रतिनिधिबीच शुक्रबार प्रशासन कार्यालय चितवनमा छलफल भएको छ ।
मृतकका परिवारलाई काजक्रियाका लागि तत्काल ५० हजार प्रशासनले उपलब्ध गराउने भने पनि पीडित पक्षले पैसाभन्दा पनि घटनाको यथार्थता र अनुसन्धानमा जोड दिनुपर्ने बताए । शव भरतपुर अस्पतालको पोस्ट मार्टम गृहमा छ । पीडित सहमत नहुँदा पोस्ट मार्टम हुन सकेको छैन ।
छलफलका विषयमा जानकारी दिँदै पूर्वसांसद् गोविन्द चेपाङले प्रशासनले घटनाको प्रभावकारी अनुसन्धान गर्न र न्याय दिलाउनुभन्दा पनि पैसा दिएर घटनालाई प्रभावित पार्न खोजिएको बताए ।
‘अनुसन्धान प्रभावकारी बनाउनेमा सबै एक हुने सहमति भएको छ’, प्रजिअ नारायणप्रसाद भट्टराईले भने, ‘अपराध गरेको भए अदालतले सजाय दिन्छ ।’ निकुञ्ज प्रमुख नारायण रुपाखेतीले घटनाका बारेमा अझै यथार्थता बुझ्न बाँकी रहेकाले अहिले केही प्रतिक्रिया दिन नमिल्ने बताए ।
प्रहरीमा उजुरी परेकाले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले बताए । ‘प्रहरीले अनुसन्धानको काम अघि बढाएको छ’, उनले भने । पोस्ट मार्टम पनि अस्पतालले गर्ने भएकाले अनुसन्धान प्रभावकारी बनाउन अस्पतालबाट पोस्ट मार्टम गराई काम अघि बढाउने एसपी गुरूङले बताए । पीडित पक्षले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर, उजुरीमा पीडकको नाम किटान छैन ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका राप्ती नगरपालिका–२, मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । साउन १ गते उनीमाथि कुटपिट भएको थियो । उपचारको क्रममा भरतपुर अस्पतालमा साउन ७ गते उनको मृत्यु भएको थियो । ७ गते नै अस्पतालमा उपचारका लागि ल्याइएको र त्यसअघि गाउँकै मेडिकलमा उपचार गरिएको मृतकका बुबा विष्णुलाल चेपाङले बताए । पानीमा सुताएर लाठी र लात्ताले हानेको, गह्रुङ्गो भारी बोक्न लगाएको, सयचोटि उत्तानो र घोप्टो पारी पुसअप गर्न लगाएको नियन्त्रणमा लिइएकामध्ये एक सन्तलाल चेपाङले बताए ।
राजकुमारसहित ७ जनालाई सेनाले नियन्त्रणमा लिएका थिए । ७ जनामा दुई जना महिला थिए । यस विषयमा कहीँकतै उजुरी भने परेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाको विषयमा छानबिन गर्ने आश्वासन पीडित पक्षलाई दिएका छन् ।