हालसम्म १३ हजारको कोरोना परीक्षण, पछिल्लो २४ घण्टामै १८ सयलाई जाँचियो

Posted by

बैशाख २, २०७७ काठमाडौंः सरकारले हालसम्म करिब १३ हजारको कोरोना भाइरस परीक्षण गरिएको जनाएको छ। मंगलबारसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र र्‍यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण गरिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको बताए । तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौंबाहिर १९७ वटा परीक्षण गरिएको हो । र्‍यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहदाँ ९९ जना आइसोलेशनमा रहेका छन्।