हिमालयन शेर्पाको लगातार दोस्रो हार, ‘बीबीसी’ विजयी, साहुखल ९९ गोलमै अड्किए

Posted by

मंगलबार, १५ पुष, २०७६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले लगातार दोस्रो हार व्यहोरेको छ ।

सुरुआती दुई खेलमा बराबरी खेलेको शेर्पाले त्यसपछिका दुई खेल हारेको हो ।

मंगलबार चौथो खेलमा शेर्पालाई ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले पराजित गर्‍यो ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा बीबीसीलाई १–० ले जिताउनेक्रममा खेलको १७औं मिनेटमा विजय गुरुङले निर्णायक गोल गरे ।

मैदानबाट बाहिर

शेर्पाका निरज बस्नेत ‘इन्जुरी’ समयको दुई मिनेटमा दुईओटा पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनुपरेको थियो ।

जावलाखेलले च्यासललाई हरायो

मंगलबारै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्‍यो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा रुपबहादुर लामा र विजय घलानले खेलको ८० र ८२औं मिनेटमा एक/एक गोल गरे ।

अड्किए सन्तोष साहुखल

यो खेलमा पनि गोल गर्न नसकेपछि च्यासलका सन्तोष साहुखल लिगमा ९९ गोलमै अड्किएका छन् ।

सुरुआती दुई खेलमा ३ गोल गरेका साहुखल त्यसपछिका दुई खेलमा गोलविहीन बनेका छन् ।

अंकतालिका

मंगलबारका खेलपछि अंकतालिकामा मनाङ–मर्स्याङ्दी क्लब १० अंकसहित शीर्ष स्थानमा कायमै छ ।

९ अंकको मच्छिन्द्र क्लब दोस्रो, ८ अंकको जावलाखेल तेस्रो, ७ अंकको थ्रीस्टार चौथो तथा त्रिभुवन आर्मी क्लब र बीबीसीको समान ६/६ अंक भएको छ ।

बुधबारका खेल

लिगअन्तर्गत् बुधबार पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा बिहान साढे ११ बजे संकटा क्लब र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे आर्मी र थ्रीस्टार भिड्नेछन् ।