३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाई सकियो, जिल्लामा पठाउने क्रम सुरु

Posted by

२१ कार्तिक
निर्वाचन आयोगले आसन्न मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रको छपाई सकेको छ । साथै, आयोगले दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रको मतपत्र छपाई पनि सुरु गरेको छ । आयोग प्रवक्ता नवराज ढकालले पहिलो चरणको प्रत्यक्षको मतपत्र छपाइ सकिएको बताउँदै पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र लगायतका आवश्यक सामाग्री पठाउन सुरु गरिएको जानकारी दिनुभयो । यसैबिच, निर्वाचन अयोगका प्रमुख आयुक्त अयोधी यादवले निर्वाचनमा गलत कार्य गर्ने जो सुकैलाई नछाड्ने बताउनुभएको छ । शहर बजार र सार्वजनिक स्थल फोहोर नगर्न उम्मेदवारहरूलाई आग्रह गर्दै उहाँले सुरक्षाकर्मीहरुलाई पनि टुलुटुलु हेरेर नबस्न निर्देशन दिनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज आयोजित ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ गर्दै यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तु विनिमयको साधन जस्तो नबनाउन राजनीतिक दलहरुसँग आग्रह पनि गर्नुभयो ।
साथै, प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीहरुलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।