प्रस्तावित राजदूत दाहाललाई सांसदको प्रश्‍न, ग्रिनकार्ड लिएकै हो?

Posted by

असार २३, २०७६ काठमाडौं :

सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेका महेशराज दाहाललाई सांसदहरूले ग्रिनकार्ड होल्डरबारे विभिन्न प्रश्‍न गरेका छन्। आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत दाहाललाई विभिन्न प्रश्‍न गरेका हुन्। समिति सदस्‍य ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अनुसन्धानै नगरीकन दाहाललाई राजदूतमा सिफारिस गरेको आरोप लगाए।  ग्रिनकार्ड होल्डरलाई सिफारिस गरेको भन्ने कुरा आएका पनि सुनाए। ग्रिनकार्ड होल्डरवालालाई सरकारले सिफारिस गरेर संसदप्रति हेपाहा प्रवृत्ति देखाएको बताए। उनले प्रश्‍न गर्दै भने, ‘तपाईंको श्रीमतीसँग अमेरिकाको ग्रिनकार्ड छ भन्ने आयो। हो भने संविधानले राजदूत बन्न दिँदैन। तपाईं वास्तविकता के हो बताइदिनुस्।’ अर्का समिति सदस्‍य राजेन्द्र श्रेष्ठले पनि कार्कीकै भनाइलाई समर्थन गर्दै राजनीतिक शरणार्थीको निवेदन दिएर अमेरिकी ग्रिनकार्ड पाएको भन्ने सुनिएको बारेमा प्रस्ट पार्न भने। ‘ग्रिनकार्डको कुरा साँचो हो भने आफैँ पछि हट्नुस्, होइन भने हामीमार्फत विश्वस्त पार्नुस्।’ त्यस्तै समिति सदस्‍य पुष्पा भुसालले दाहालको उजुरीभन्दा पनि ग्रिनकार्डबारे मिडियामा धेरै विषय आएको सुनाइन्। त्यस्तैगरी समिति सदस्‍यहरू सुरेन्द्र पाण्डे, पार्वत गुरुङ, यागेश भट्टराईहरूले पनि ग्रिनकार्डबारे प्रस्‍ट पार्नुपर्ने बताए।